मनोरञ्जन

युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

२७ फाल्गुन २०७९, शनिबार १२:४३
युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

२७ फागुन, सिन्धुपाल्चोक । प्रगति साहित्य सम्मान-२०७९ बाट किशमा किशाेर बुढाथोकी सम्मानित भएका छन् । सिन्धुपाल्चोक जिल्ला मेलम्ची  न पा ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा. वि ले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेकाे हाे ।

उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भए । बिद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि याेगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेकाे छ ।

साहित्य विधाबाट सम्मानित भएका बुढाथाेकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिकाे उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेकाे बिद्यालयले जनाएकाे छ । बुढाथोकीले कतारमा रहँदा नवाेदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यकाे विकासमा याेगदान गरेका थिए ।

सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिककाे सम्पादन गरेका थिए । सिन्धु साहित्य अभिलेखालयकाे संयाेजक, गजल सिन्धुकाे अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यकाे विकासमा क्रियाशील छन् । उनकाे मरूभूमिकाे साहित्य यात्रा र जूनका आभाहरू कृति प्रकाशित छ ।

त्यस्तै पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन् । २०६० सालबाट पत्रकारिता सुरू गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन् । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उनले जिल्लामा भएका विपदलगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएकाे विद्यालयले जनाएको छ ।

लाेक गायक पदम दुलाललाई गीत संगीतबाट मनाेरञ्जन मात्रै नभई जिल्लाकाे कला तथा पर्यटन विकासमा सघाउ पुर्याएकाले सम्मान गरिएकाे हाे । हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना सम्मानित भएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको साे विद्यालयले आफ्नो विद्यालयकाे  ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा सम्मान प्रदान गरेकाे हाे । मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङले उनीहरूलाई सम्मान पत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्