प्रधानमन्त्रीका रुपमा लीले सोमबार कंग्रेसको अधिवेशन सम्पन्न भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नेछन्। त्यो चीनको अर्थतन्त्र उकास्नेबारे उनको मत कस्तो छ भनेर बुझ्ने अवसर हुनेछ।
‘ली चियाङको सबैभन्दा ठूलो चुनौती भनेको यो वर्ष चीनको अर्थतन्त्र उकास्नु हो,’ युरेसिया ग्रुपकी आभा सेन भन्छिन्। तर, यी ६३ वर्षीय नेतासँग नीतिलाई प्रभाव पार्नसक्ने शक्ति कति होला भनेर विश्लेषकहरु बहस गरिरहेका छन्। किनभने पछिल्लो दशक राष्ट्रपति सीले शक्ति एकत्रित गर्दै जाँदा प्रधानमन्त्री पदको प्रभाव खुम्चिँदै गएको छ।
केही विश्लेषकहरुको भनाइ के छ भने लीले आर्थिक मुद्दामा निर्णय गर्ने अधिकार ज्यादा पाउनेछन्। किनभने उनी पूर्ववर्ती ली खछ्याङको तुलनामा सीसँग बढी नजिक मानिन्छन्।
चीनको अर्थतन्त्रले भूराजनीतिक अनिश्चितताका साथमा तीन वर्ष कायम रहेको शून्य कोभिड नीतिको मार समेत बेहोरिरहेको छ।
तर, अन्य विश्लेषकको भनाइमा चाहिँ आर्थिक विषयमा पनि सीकै निर्णय अन्तिम हुनेछ। खासगरी विकास सुरक्षासँग जोडिएका सवालहरुमा।
‘ली चियाङबारे धारणा बनाउँदा सबैभन्दा सुरुमा उनी सीको आज्ञाकारी भूमिका रहिसकेका छन् भन्ने बुझ्नुपर्छ,’ न्युयोर्कस्थित वासर कलेजका प्राध्यापक सु फुपिङ भन्छन्।
गेवकल ड्रागनोमिक्सका क्रिस्टोफर बेडर भने सीले केही निर्णयको जिम्मा लीलाई दिने बताए। तर, उनले त्यो शक्ति प्रधानमन्त्री स्वतन्त्र भएकाले होइन, सीको सहयोगी भएकाले पाउने उनको तर्क छ।
चिनियाँ कम्युनिस्ट पार्टी र राज्यका शीर्ष अधिकारीहरु बेइजिङस्थित चोङनानहाइमा बस्छन्। जसको दक्षिणी भागमा राष्ट्रपति र उत्तरी भागमा प्रधानमन्त्री बस्छन्। राष्ट्रपति पार्टी, सेनासहित सम्पूर्ण शक्ति अभ्यास गर्छन्। सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले मुख्यगरी आर्थिक पक्ष हेर्छन्।
शासन सञ्चालनका क्रममा यी दुई शीर्ष पदबीच प्रायः मतभेद रहने गर्छ। जसलाई दक्षिणी र उत्तरी चोङनानहाइबीचको प्रतिद्वन्द्विताका रुपमा अर्थ्याइने गरिन्छ।
प्रधानमन्त्रीमा लीको नियुक्तिले ४० वर्षदेखि चल्दै आएको सो प्रतिद्वन्द्विता अन्त्य भएको बेइजिङस्थित राजनीतिक विश्लेषक वु चियाङ बताउँछन्।
‘शासन सञ्चालनका विषयमा पार्टी र मन्त्रिपरिषदबीच पहिलो पटक मेलजोलको स्थिति उत्पन्न भएको छ। र, यसलाई मन्त्रिपरिषद् सबैभन्दा कमजोर भएको अवस्था पनि भन्न सकिन्छ,’ उनले भने।
गएको दशकमा सीले आफ्नो शक्ति बढाउँदै लगेका छन्। परम्परागत रुपमा मन्त्रिपरिषद् अन्तर्गत रहेका कयौँ नीतिगत पक्षहरु सरकारको पुनर्संरचना गरेर पार्टी मातहत ल्याइएको छ।
पछिल्लो योजनाअनुसार प्रविधि, नवप्रवर्तन र वित्तीय जोखिम नियन्त्रणजस्ता क्षेत्रहरु पनि सिधै पार्टी मातहत रहन सक्छ।
वुका अनुसार पछिल्लो समय मन्त्रिपरिषद् आर्थिक विषयमा केन्द्रित भएको छ। ‘तर, त्यसको अर्थ आर्थिक विषयमा पनि प्रधानमन्त्री लीले पूर्ण स्वतन्त्रता प्राप्त गर्छन् भन्ने होइन। किनभने यो वर्ष र आउँदा वर्षहरुमा सीको मुख्य ध्यान अर्थतन्त्रमै केन्द्रित हुनेछ। त्यसैले ली सीईओजस्तो मात्र हुनेछन्,’ उनले भने।
चीन मामिलाका अध्येता चेन ताओयिन भने सीले सुृरक्षालाई नै मुख्य प्राथमिकता दिने बताउँछन्। र, सुरक्षा मामिलासँग आर्थिक विषयले टक्कर दिने अवस्थामा लीको भूमिका नियन्त्रित हुने उनको भनाइ छ।
‘आफूलाई अनुमति नभएको काम लीले पटक्कै गर्ने छैनन्। तर, आफूले सकेजति सबैथोक उनी गर्नेछन्। त्यसैले सीले कोरेको दायराभित्र रहेर लीले केही महत्वपूर्ण काम गर्न सक्छन्,’ चेनले भने।
चीनस्थित युरोपियन युनियन च्याम्बर अफ कमर्सका अध्यक्ष जर्ज उत्क सांघाइमा राम्रो आर्थिक दक्षता देखाएका लीका लागि प्रधानमन्त्री पदको सुरुवात कठिन भएको बताउँछन्। किनभने उनले उपप्रधानमन्त्रीका रुपमा काम गरेका छैनन्।
‘हालको आर्थिक परिस्थिति प्रमुख समस्या हो। उपभोग कमजोर छ, मानिसहरुको धारणा नकारात्मक छ। त्यसैले उनका लागि यो अत्यन्त कठिन सुरुवात हो। यसलाई बदल्न उनीसँग ज्यादा समय पनि छैन,’ उनले भने।
यद्यपि, व्यावासायिक क्षेत्र नयाँ प्रधानमन्त्रीप्रति आशावादी देखिन्छ। ‘नयाँ प्रधानमन्त्रीप्रति तपाईंहरुको अपेक्षा के छ भनेर मैले च्याम्बरका केही सदस्यहरुलाई र चिनियाँ उद्यमीहरुलाई सोध्दा उनीहरुको जवाफ थियो– बजारलाई सुनियोस्,’ उनले थपे। एससीएमपी सहयोगबाट