२७ फागुन, काठमाडौँ । नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ।
एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समूदायबाट भएकाले अब महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै उजुरी हालेको हो। ‘नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरित तथा विगतको दुवै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी रामसहाय यादवको उम्मेदवारी परेकाले..,’ एमालेको उजुरीमा उल्लेख छ। उपराष्ट्रपतिका लागि ४ जनाको उम्मेदवारी परेकोमा यादवमात्रै पुरुष उम्मेदवार बनेका हुन्।
एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाबाटै प्रमिला यादव र जनमतबाट ममता झाले उम्मेदवारी परेको हो। चैत ३ गते मतदान हुने उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता सम्पन्न भएको छ। सत्ता साझेदार दलकै तर्फबाट तीन जना र एमालेका एक गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ।