समाचार

दुःखको सहारा ‘धर्मभकारी’

२८ कार्तिक २०७८, आईतवार ०४:३५
दुःखको सहारा ‘धर्मभकारी’

२८ कार्तिक,पर्वत। गाउँमा कसैको घर पहिराले पर्यो आगोले जल्यो वा सुत्केरी व्यथा लागेकालाई आर्थिक अभावमा अस्पताल पुर्याउन सकिएन भने फलेवास नगरपालिका–८ ठानामौला र आसपासका सर्वसाधारणहरू स्थानीय धर्मभकारीमा पुग्छन् ।

तत्कालीन समयमा गाउँमा वन नभएको अवस्थामा वृक्षरोपण गरी लोसेको वन संरक्षणका लागि वनका हेरालु राख्न स्रोत नभएकाले गाउँले मिली कोदो उठाएर ‘धर्मभकारी’ स्थापना गरेका थिए । अहिले सो धर्मभकारी सबैका लागि साहारा बनेको स्थानीयवासी श्यामबहादुर कुँवरले जानकारी दिए ।

धर्मभकारीमा रहेको अन्न प्रायः जेठ महिनामा बाँडिने हुँदा मङ्सिरसम्म भकारी खाली रहने र मङ्सिरमा सबैले अन्न फिर्ता गर्ने हुँदा भरिने गर्दछ । अन्न धेरै भएका अवस्थामा गाउँलेको भेलाले बिक्री गर्ने परम्परासमेत रहेको पाइन्छ ।

ठानामौलाका साविक वडा नं ३, ४ र ५ का गाउँले मिलेर सञ्चालन गरेको ‘धर्मभकारी’ दुःखका बेला सहारा बन्दै गएको छ । स्थानीयवासी रत्नबहादुर गुरुङका अनुसार चार÷चार मना अन्न सङ्कलन गरेर सुरुआत गरेको भकारीमा अहिले ४० मुरी अन्न पुगेको छ ।

विसं २०५८ मा स्थापना भएको यो भकारी अहिले स्थानीयजवासी विपन्नको सहारा बनेको गुरुङले बताए । भकारी स्थापना भएदेखि नै ठानामौला र आसपासका बासिन्दाले हरेक बाली पाकेपछि आफ्नो क्षमताअनुसारको अन्न यहाँ ल्याएर जम्मा गर्छन् ।

जम्मा गरेको अन्न गाउँमा जोसुकैलाई विपद् परेका बेला दामासाहीले बाँडिन्छ । अन्नमात्रै होइन, यहाँ पुग्ने जोसुकैले पनि आफ्नो गच्छेअनुसारको रकमसमेत दान गरेर फर्किने गरेका छन् । सहयोगवापत सङ्कलन भएको अन्न र अन्य सामान समस्या पर्नेलाई सहयोग गर्दै आइरहेका छन् ।

अन्नभकारी’मा सहयोग गर्ने दाता पनि पछिल्लो समय बढ्दै गइरहेको उनले बताए । ‘धर्मभकारी’मा एक व्यक्तिले हरेक वर्ष पाँचदेखि १० पाथी अन्न नियमित दान गर्छन् । गाउँमा कतैकतै मात्र सुन्न पाइने ‘धर्मभकारी’ले साँच्चिकै धार्मिक काम गरेको भन्दै स्थानीयवासी पनि यसको प्रचार र सुदृढीकरणमा जुटेका छन्।

बर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर ‘धर्मभकारी’लाई फिर्ता गर्ने चलन अहिलेसम्म चलिआएको छ ।

धर्मभकारीबाट कोदो लाने व्यक्तिले १० पाथी कोदो लगेमा दुई पाथी थपेर मङ्सिरमा फिर्ता गर्ने गरेका छन् । भकारीबाट कोदो सापटी लगेपछि कोदो नै फिर्ता गर्नुपर्छ, पैसा तिर्न पाइँदैन ।

आफूले लगेको अन्न मङ्सिरमा फिर्ता गर्नुपर्ने भएकाले सदस्यले आफ्नो बारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानीयस्तरमा कोदोखेती पनि लोप नहुने समितिका सदस्य रत्नबहादुर गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्