२७ फागुन, काठमाडौं । सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि २७ क्याम्पसमा भागवण्डा गरेका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी चैत ५ मा हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी अन्य उपत्यका ठूला क्याम्पसमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ।
अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठूला क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए।
नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि), त्रिचन्द्र क्याम्पस, शंखरदेव क्याम्पस, पब्लिकयुथ क्याम्पस, पद्यमकन्या क्याम्पस, पशुपति क्याम्पस, विश्वभाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, जनप्रशासन क्याम्पस र चिकित्सा शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्ज लिने प्रारम्भिक समझदारी छ ।
त्यस्तै, अखिल क्रान्तिकारीले अस्कल क्याम्पस, नेपाल ल क्याम्पस, पुलचोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ क्याम्पस, सानोथिमी क्याम्पस, एनसीसी क्याम्पस, एनआर क्याम्पस र ललितकला क्याम्पस लिने गरी सहमति भएको छ । साथै अनेरास्ववियूलाई आरआर क्याम्पस, ताचाल क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस गरी ४ वटा क्याम्पसको स्ववियु सभापति दिने सहमति भएको छ ।