२७ फागुन, काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।
‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’, प्रचण्डले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।’
माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको भन्दै प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने आफूहरूको साझा मत रहेको बताए । उनले भने, ‘भोलि संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ ।’
संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।’
समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल पनि माओवादीहरूले नै लिनुपर्ने प्रचण्डले बताए । उनले भने, ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’
‘एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्’, प्रधानमन्त्रीले भने, ‘तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो । माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ ।’