समाचार

काक्रेबिहार फनपार्कमा पिङ चुँडिँदा एक महिलाको मृत्यु, दुई घाइते

२४ फाल्गुन २०७९, बुधबार १४:५१
काक्रेबिहार फनपार्कमा पिङ चुँडिँदा एक महिलाको मृत्यु, दुई घाइते

२४ फागुन, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको भैरव सामुदायिक बनमा रहेको प्रादेशिक सहिद पार्कमा पिङ खेल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय खगिसरा सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ। यस्तै पिङ खेलिरहेका अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा वीरेन्द्रनगर–३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल रहेका छन्। उक्त घटना बुधबार साँझ घटेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।   प्रहरीका अनुसार बुधबार बेलुका पाँच बजेतिर पिङ चुँडिएको थियो। सहिद पार्कमा काँक्रेबिहार फन पार्क रिसोर्ट प्रालिले पिङ सञ्चालन गर्दै आएको थियो।

प्रहरीले फन पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।  aमृतक सुनारको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ। प्रहरीका अनुसार आफन्तसँग भेटघाटका लागि सुर्खेत आएकी उनी अवलोकनका लागि सहिद पार्क गएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्