समाचार

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

२० मंसिर २०७८, सोमबार १४:४५
मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

जनकपुरः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रसिद्ध सीताराम विवाह पञ्चमीमा सहभागी हुने श्रद्धालुहरुलाई स्वास्थ्य मापदण्डको परिपालना गर्न आग्रह गरेका छन ।

मुख्यमन्त्री राउतले विवाह पञ्चमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुहरुमा आग्रह गरेका हुन ।

विवाह पञ्चमी महोत्सको महत्वपूर्ण दिन बुधबार नेपाल र भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरु जनकपुरधाम आउने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य सतर्कता अपनाउन मुख्यमन्त्री राउतले अपिल गरेका छन ।

त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा भव्यतापूर्वक सीताराम विवाहपञ्चमी महोत्सव मनाउँदै आइएको छ । विवाह पञ्चमीका अवसरमा प्रदेश २ सरकारले मङ्सिर २२ गते बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।

विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाले सीताराम विवाहपञ्चमीमा बहुमूल्य गरगहना लगाई सहभागी नहुन आग्रह गरेको छ । धनुषाका प्रजिअ बन्धुप्रसाद बाँस्तोलाले आज सूचना जारी गरी विवाहपञ्चमी महोत्सवमा अत्यधिक भीडभाड हुने भएकाले महँगो मूल्यका गरगहना लगाएर सहभागी नहुन आग्रह गरेका हुन ।

भीडभाडमा जोखिमयुक्त सामानसमेत लिएर नजान आग्रह गर्दै कोरोनाको जोखिम पनि कायमै रहेकाले विवाहपञ्चमीका सहभागीलाई अनिवार्य मास्क प्रयोग गर्नसमेत प्रजिअ बाँस्तोलाले आग्रह गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस्