२४ फागुन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ। बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसाे १ बजे बस्ने प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार राष्ट्रपति निर्वाचनका बारेमा निर्णय गर्न बैठक बाेलाइएकाे हाे।
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र देशमा देखिएको पछिल्लो आर्थिक मन्दीका विषयमा पनि छलफल हुनेछ ।
‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिको गम्भीर ढंगले समीक्षा गर्छाैँ, पार्टी सरकारमा ग’को विषयमा पनि छलफल गर्छाैँ, पार्टीको आगामी रणनीतिको विषयमा छलफल गर्छाैँ’, प्रवक्ता श्रेष्ठले बुधबार बिहान नेपालखबरसँग भने, ‘र, स्वाभाविक रूपमा भोलि हुने राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीको धारणा सार्वजनिक गर्छाैँ।’
राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुने वा नहुने कस्तो निर्णय होला? हामी सबै विकल्पमा खुला छौँ, ठ्याक्कै बैठक बस्नुभन्दा अघि प्रवक्ताले यस्तो निर्णय हुन्छ भनेर भन्न मिल्दैन, हामी छलफल गर्छाैं र टुंगोमा पुग्छौँ।’
राप्रपा राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसैको पनि प्रस्तावक र समर्थक बनेको छैन। राष्ट्रपति पदका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन्। दुवै नेताले राप्रपाको कार्यालयमै पुगेर आफूलाई मतदान गर्न आग्रह गरेका छन्। त्यसबेला राप्रपा नेताहरूले यस विषयमा पार्टी बैठक बसेर निर्णय गरिने जवाफ दिएका थिए।