समाचार

प्रधानमन्त्री दाहाल लगायतद्वारा सरकारसँग शान्ति प्रक्रियासँग सम्बन्धित कानून बनाउन माग

२३ फाल्गुन २०७९, मंगलवार ०६:५५
प्रधानमन्त्री दाहाल लगायतद्वारा सरकारसँग शान्ति प्रक्रियासँग सम्बन्धित कानून बनाउन माग

२३ फागुन, काठमाडौं । प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिट दर्ता गर्न सर्वोच्चमा आदेश दिइएसँगै माओवादी वृत्तमा तरंग छाएको छ ।

दाहाल सहित आठ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।”

शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिको ‘प्रतिवाद’ गर्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा दाहाल, बाबुराम भट्टराई, सीपी गजुरेल, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल, कर्णजित बुढाथोकी र नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन्।

सर्वोच्च अदालतले पाँच हजार हत्याको जिम्मेवारी लिने घोषणा गरेका माओवादी अध्यक्ष दाहाल विरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी र पूर्व माओवादी नेताहरूले संयुक्त बैठक गरेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकले राज्यसँग विभिन्न समयमा भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिएको छ । बैठकपछि ८ नेताको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकारसँग माग गरिएको छ ।

जबकि हस्ताक्षरकर्तामध्येका एक प्रचण्ड स्वयं अहिले प्रधानमन्त्रीको कुर्सीमा छन् । वक्तव्यमा पनि प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा हस्ताक्षर गरेका छन् । शान्ति प्रक्रियापश्चात प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न शुक्रबार आदेश दिएपछि माओवादी वृत तरङ्गित भएको हो।

प्रतिक्रिया दिनुहोस्