काठमाडौं । श्रीमान शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेको खबरकाबीच अभिनेत्री निशा अधिकारीले आफूहरूको सम्बन्ध ठीकठाक चलिरहेको बताएकी छन् । अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो विकल्पमा काम गरिरहेको उनको भनाइ छ ।
निशाले यो आफूहरूको निजी मामला भएको बताएकी छन् । अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन् । यो विषयलाई परिपक्वता र करुणाका साथ सुल्झाउने उनको भनाइ छ । स्टाटसमा उनले लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदै छु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै निशाले आफूहरूबीचको सम्बन्धमा माया, सम्मान र करुणा रहेको पनि दाबी गरेकी छन् । उनले श्रीमानविरुद्ध अंश मुद्दा हाल्नुको कारण खुलाएकी छैनन्, बरु यो आफूहरूको निजी मामिला रहेको बताएकी छन् ।
उनले सबैले नक्कल गर्न नसकिने विभिन्न व्यक्तिका अनुभवहरूप्रति हामी कत्तिको दयालु र स्वीकार्य छौँ भनेर गहन रूपमा सोच्न जरुरी रहेको बताएकी छन् ।
उनले अंग्रेजीमा लेखेको स्टाटसको भावानुवाद:
म न त लुकाउने छु न त धेरै व्याख्या गर्नेछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ। हामीले एउटा यस्तो समाज सिर्जना गर्न आवश्यक छ, जहाँ यस्ता मानिसहरू हुनुपर्छ,
हामी सबैले नक्कल गर्न नसकिने विभिन्न व्यक्तिका अनुभवहरूप्रति हामी कत्तिको दयालु र स्वीकार्य छौँ भनेर सोच्न र पुनस् सोच्न आवश्यक छ। त्यो हाम्रो विशिष्टता हो। त्यो स्वीकृतिले हामीलाई मानिसको रूपमा परिभाषित गर्दछ र सामूहिक रूपमा हामीलाई मायालु समाज निर्माण गर्न नेतृत्व गर्दछ।
म, शरद र युवान ठिक छौ र सम्पूर्णमा अथाह माया, सम्मान र करुणा प्रकट गर्न चाहन्छौ। आशा छ कि तपाईँको होली सुखद बित्यो।
अधिकारीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा अदालतले सम्पत्तिको फाँटवारी गर्न आदेश दिइसकेकाे छ । अधिकारीले नाबालक छोरालाई समेत अंश भाग लगाउनुपर्ने माग गरेकी छन् । क्रिकेटर शरदले भने यसबारे कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् ।
प्रेम सम्बन्धमा रहेका अधिकारी र भेषावकरले २०७४ मा विवाह गरेका थिए । २०७५ मा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । अहिले भने उनीहरू नेपालमा नै बसोबास गर्दै आएका छन् ।