नेपाली चलचित्र

पल शाहको अनुरोध – सहकार्य गर्नुछ, मसँग जोडिएका कसैलाई गालि नगरिदिनुस्

२२ फाल्गुन २०७९, सोमबार १५:४७
पल शाहको अनुरोध – सहकार्य गर्नुछ, मसँग जोडिएका कसैलाई गालि नगरिदिनुस्

२२ फागुन,काठमाडौं । जेलबाट निस्केपछि अभिनेता पल शाहले सामाजिक सञ्जालमा पहिलो स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेका छन् । बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयका रुपमा लिएको उनको भनाइ छ ।

सोमबार सामाजिक सञ्जालमार्फत फागु पूर्णिमाको शुभकामना दिँदै अभिनेता शाहले बितेको एक वर्षलाई आफूले सिकाईको उर्बर समयको रुपमा लिएको र मनमा कसैप्रति रिस र कुनै प्रतिशोधको भावना नभएको बताएका हुन् । साथै उनले बितेको एक बर्षको त्यो घटनासंग जोडिएका ब्यक्तित्वहरुमा सम्मान व्यक्त गर्दै कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरीदिन पनि आग्रह  गरेका छन् ।

बितेको एक वर्षलाई आफूले सिकाईको उर्बर समयको रुपमा लिएको बताएका छन्।

पल शाहले लेखेका छन् :

नमस्कार सबैजनालाई

सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।

बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।

साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।

र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस ।

त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ। त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।

रङ्गिन र सुखमय होस जीवन 

होलीको शुभकामना सम्पुर्णमा

प्रतिक्रिया दिनुहोस्