२२ फागुन, काठमाडौं । शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’को भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी परेको छ ।
ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो । ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न निवेदन दिएको बताए ।
‘कसले अपलोड गरेको रहेछ भनेर पहिचान गरिदिन निवेदन दिन आउनुभएको थियो,’ उनले भने । उनले प्रतलिपि अधिकार हनन्सम्बन्धी विषय रहेकाले यस्तो मुद्दा साइबर ब्युरोले नहेर्ने बताए ।
‘हामीले प्राविधिकरूपमा हेर्ने कुरा बेग्लै हो तर मुद्दा भने काठमाडौं प्रहरी परिसरजस्ता युनिटले हेर्छन’, रायको भनाई छ ।
यही फागुन १९ बाट देशभर लागेको चलचित्र ‘छक्कापञ्जा ४ ’ ले सुरुको दिनमा ५० प्रतिशतमात्र अकुपेन्सी आगेटेका हलहरूमा समेत अहिले चलचित्र हाउसफुल छ । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले चलचित्रको क्लिपहरू बिना अनुमति सामाजिक सञ्जालमा आउनु गलत भएकोले उजुरी दिएको बताए । ‘चलचित्र पाइरेसी भयो । यसरी त हामीलाई ठूलो घाटा लाग्छ । यसलाई कन्ट्रोल गर्नुपर्यो भनेर निवेदन दिएका छौं’ उनले भने, ‘पाइरेसी रोक्ने प्रोसेस गर्ने उहाँहरूले बताउनुभएको छ ।’