समाचार

ओलीको भनाइप्रति सरकारको आपत्ति, निकाल्यो विज्ञप्ति

२१ फाल्गुन २०७९, आईतवार १४:०८
ओलीको भनाइप्रति सरकारको आपत्ति, निकाल्यो विज्ञप्ति

२१ फागुन,काठमाडौँ​। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

सरकारका प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ– ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

‘यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दुतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ– ‘सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।

मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ । नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ । तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरूबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्