२१ फागुन,सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर गठबन्धनमा रहेका दलले फागुन १९ गते गोदावरीमा छलफल गरेका थिए। त्यही छलफलका क्रममा आज फागुन २१ गते दिउँसो १ बजे विश्वासको मत लिने सहमति भएको सांसद गीता चौधरीले बताइन्।
संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।
विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । तर माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर ‘पावरसेयरिङ’ को विषय निर्क्योल हुनुपर्ने बताएको कांग्रेस सांसद मेघराज खड्काले बताए । यस्तै, नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिमा सभापति माग गरेको कांग्रेस सांसदहरुले बताए ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक/एक सदस्य छन् ।
पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत पाउनेमा ढुक्क रहेको उनका स्वकीय सचिव शाहीको दाबी छ । गत मङ्सिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेश सभामा विश्वासको मत पाउन असफल हुनु भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।