समाचार

दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

२० फाल्गुन २०७९, शनिबार १०:५४
दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

२० फागुन, काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ । उस्ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले लिखित प्रतिबद्धता मागेको हो ।

 उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार बिहान सुदूरपश्चिम सरकारले लिन लागेको विस्वासको मतितर संकेत गर्दै दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसकिने प्रष्‍ट पारेकी हुन् । ‘दलीय सहमतिको लिखित हस्ताक्षरविना विस्वासको मत दिन सकिँदैन,’ उनले भनेकी छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिँदेछन् । मत लिनेबारे शाहले शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराइसकेका छन् ।

संविधानको धारा १६८ को उपधार २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधार ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

सोही अनुसार भोलि विश्वासको मत लिँदै गरेको उनलाई कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका ४ मत पाउने निश्चित छ । शाह सरकारलाई स्वतन्त्र जितेका डा. तारा जोशीले पनि विश्वासको मत दिने जनाएका छन् ।

तर, माओवादी र नागरिक उन्मुक्तिले भने अहिले सम्म विश्वासको मत दिने निर्णय गरेका छैनन् । यहाँ माओवादी केन्द्रका सभामुख सहित ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्