पत्रपत्रिका

सुरु भयो जुम्लामा एमबीबीएसको पढाइ

२० मंसिर २०७८, सोमबार ०१:५९
सुरु भयो जुम्लामा एमबीबीएसको पढाइ

२० मंसिर, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसं) को पठनपाठन आइतबारबाट सुरु भएको छ ।

यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो । पहिलो पटक एमबीबीएससहित बीफार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको छ । आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्यापन गर्न २० जनाको कोटा तोकिदिएको थियो ।

पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको छ । बीफार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले भने, “यसबाट समग्र कर्णालीवासीलाई फाइदा पुग्नेछ । ” उनका अनुसार भर्ना भएका विद्यार्थीका लागि आइतबारबाट अभिमुखीकरण सुरु गरिएको छ ।

प्रतिष्ठानले हाल तीन सय शैया क्षमताको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।अस्पतालमा १० शैयाको सघन उपचार कक्ष –आईसीयू र चार शैयाको शल्यक्रिया कक्षसमेत रहेको छ ।प्रतिष्ठानमा गत वर्षदेखि पोस्टग्राजुएट्स (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका छन् ।

यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ, हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्