१७ फागुन, काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ।
निर्वाचन आयोगले आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता जारी गरेको हो । आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुनेछ ।
‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति निर्वाचन २५ फागुनमा र उपराष्ट्रपति निर्वाचन ३ चैतमा हुँदैछ। राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ उम्मेदवार रहेका छन्। आयाेगका अनुसार दुवै जनाकाे उम्मेदवारी कायमै रहेकाे छ।
राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने आयाेगले जनाएकाे छ। संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।