१६ फागुन, काठमाडौं। विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यौपाने तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुन् भने कांग्रेस सांसद गुरुङ तत्कालीन राज्यमन्त्री हुन् । विशेषले उनीहरुसहित ११ जनामाथि भ्रष्टाचार कसुर स्थापित गर्दै सजाय सुनाउने मिति तोकेको हो ।
गुरुङ पछिल्लोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित सांसद् हुन् । उनलाई मेला सञ्चालकको हैसियतमा मुद्दा चलाइएको थियो ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि थियो । उक्त क्रममा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।
समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपानेमाथि पनि मुद्दा ठहर भएको छ ।
यसैगरी, सरकारी जग्गामा सञ्चालित फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई पनि सजाय हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा मुद्दा दायर गरेकोमा चार वर्षपछि फैसला आएको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोेलाको इजलासले यस्तो फैसला गरेको हो । उक्त मुद्दामा ५ जनाले भने सफाइ पाएका छन् ।
सफाइ पाउनेहरूमा बल बहादुर स्वार, मजन मरासैनी, प्रेम सिंह धामी, जगदेब चौधरी र रत्न बहादुर गाहा मगर रहेका छन् । अख्तियारले १४ जनाविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो । यो मुद्दामा सजाय निर्धारण गर्न भने फागुन २५ गतेलाई पेशी तोकिएको छ।