१६ फागुन, धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले फागुन १७ गते (बुधबार) विश्वासको मत लिने तयारी गरेका छन्।
माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले १ महिनाको अवधि पूरा हुनु अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्।
दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासकाे मत लिन तयारी गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासकाे मत लिन खाेजेका हुन ।
नेकपा एमालेबाट सरकारको नेतृत्व गरेका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले नियुक्त भएको १ महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत हासिल गरिसक्नुपर्ने हुन्छ। उनी मुख्यमन्त्रीमा नियुक्त भएका फागुन २५ गते १ महिना पुग्दैछ। राष्ट्रपतिको निर्वाचन पनि फागुन २५ गते नै भएको र सबै प्रदेश सभा सदस्यहरु राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न काठमाडौं जाने भएकाले मुख्यमन्त्री शाहले फागुन १७ गते नै विश्वासको मत लिने तयारी गरेका हुन्।