१५ फागुन, काठमाडौँ । चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ ।फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन ।
केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ । सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्र्दै लामिछाने सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त हुन पुगेको छ ।