खेलकुद

केपी ओली कप : सेमिफाइनल समीकरण पूरा

१३ फाल्गुन २०७९, शनिबार १२:२८
केपी ओली कप : सेमिफाइनल समीकरण पूरा

१३ फागुन, काठमाडौं ।आयोजक टोली केपी ओली एफसीले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा केपी ओली एफसीले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। यससँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ।

यससँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेले पछिटाईब्रेकरमा पुगेको खेलमा आयोजकको टोलीले बाजी मारेको हो।

प्रतिस्पर्धात्मक खेलमा केपी ओली एफसीका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बू र अनिल महर्जनले गोल गरेका थिए। जवालाखेलका सीमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गर्दा एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अन्तिम चारमा पुर्‍याएका हुन्।

निर्धारित ९० मिनेटको खेलको शुरुवात निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा जावलाखेलका लागि डिफेन्डर राहुलले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको आयोजकको टोली दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रियो। ६८ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १–१ गोलको बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन र खेल टाईब्रेकरतिर लम्किएको थियो।

अब आयोजक टोलीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्