१३ फागुन, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिमि र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।
देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको राप्रपाको दाबी छ। राप्रपाले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको ठहर गरेको छ।
‘शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमतिका बीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर २०७९ पौष १० गते राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको हो।
राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। र, प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। त्यससँगै पुस १० मा गठित सत्ता गठबन्धन भत्किने आकलन गरिएको थियो।