१३ फागुन, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।
नेपाले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेपछि पौडेलले २ बजे संसद् भवन पुगेर उम्मेदवारी मनोनयन गर्ने तयारी भएको हो ।
पौडेलको उम्मेदवारीका लागि दिउँसो १ बजे संसद् भवन पुग्ने र २ बजे उम्मेदवारी दर्ता गर्न तय भएको पौडेलनिकट स्रोतले जानकारी दियो । उनलाई प्रमुख सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहित ८ दलले समर्थन गर्ने निर्णय शुक्रवार भएको थियो ।
केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन । हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।