समाचार

आठ दलको समर्थनमा उपराष्ट्रपति उम्मेदवार जसपाबाट

१२ फाल्गुन २०७९, शुक्रबार १६:२४
आठ दलको समर्थनमा उपराष्ट्रपति उम्मेदवार जसपाबाट

१२ फागुन, काठमाडौं । आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने भएको छ । राष्ट्रपतिमा भने कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्णय लिएको हो ।

आठ दलमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत, र राष्ट्रिय जनमोर्चा छन् । ती आठ दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३२ हजार एक सय २३ मत पाउने सम्भावना देखिएको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ । त्यसको ५१ प्रतिशत मत ल्याउने उम्मेदवार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचित हुनेछन् ।

संघमा १९ र प्रदेशमा २५ सदस्य भएको एकीकृत समाजवादीको दुई हजार सात सय एक, संघमा १४ र प्रदेशमा २८ सदस्य भएको राप्रपाको दुई हजार चार सय ५०, संघमा १५ र प्रदेशमा २२ सदस्य भएको जसपाको दुई हजार दुई सय ४१ र संघमा ६ र प्रदेशमा १६ सिट भएको जनमतको एक हजार दुई सय ४२ मतभार कायम रहेको आयोगले जनाएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । ०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

तर, बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने चर्चा छ । उनलाई उपराष्ट्रपति बनाएर रिक्त स्थानमा पार्टी अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्