१२ फागुन, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् ।
माओवादी, कांग्रेस र एमालेका उम्मेदवार राष्ट्रपति बन्ने चर्चा चलिरहेका बेला खनालले दिएको अभिव्यक्तिले क्रमशः आकार लिँदै गइरहेको छ । खनालले धनगढीमा दिएको अभिव्यक्तिको एक साता पार्टी नेकपा एकीकृत समाजवादीले त्यसलाई आधिकारिक रुपमा अघि बढाउने निर्णय गर्यो । फागुन १० गतेको सचिवालय बैठकले भावी राष्ट्रपतिमा पार्टीले औपचारिक दाबी गर्ने निर्णय गर्यो ।
‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपाल पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डा अघि सार्ने बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीसँग भने, ‘भोलि अन्य दलहरूसँग छलफलमा उहाँको नाम पनि एउटा एजेन्डाको रूपमा रहनेछ ।’ उनका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर कांग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।
तर, तीन दलले मात्रै समर्थन गरेर नेपाल राष्ट्रपति बन्न सक्ने अवस्था भने होइन । त्यहि अनुसार अहिले बालुवाटारमा कांग्रेस सहित माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरू नेपाललाई राष्ट्रपति बनाउने बिषयमा छलफल गर्न बैठक बसिरहेका छन् ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा , एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी छन् । बैठकका कांग्रेसका गगन थापा, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू पनि सहभागी छन् ।
नेकपा एसमात्रै यस्तो पार्टी हो, जसले भावी राष्ट्रपतिका लागि पहलकदमी गर्ने औपचारिक निर्णय गरेर बसेको छ । जसअनुसार नेकपा एसले माधव नेपालको नाममा सहमति खोज्नका लागि हिजो साँझ नेकपा माओवादी र जसपा बीच छलफल गरेको हो । सो छलफल सकारात्मक भए पछि कांग्रेस र एमालेसँग छलफल गर्न लागिएको हो ।