१२ फागुन, काठमाडौँ। सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ । लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ। १५औं नम्बरमा लामिछानेको मुद्दा पेसी रहेको छ।
धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।
नेपाली राष्ट्रिय टीम यूएई भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । यदि सन्दीपमाथिको प्रतिवन्ध सर्वोच्चले कायम राख्यो भने उनी यूएई जान पाउने छैनन् । क्यानले सन्दीपको ठाउँमा मौसम ढकाललाई टीममा समावेश गरेको छ ।
नेपाल-यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । एक दिवसीय वरीयता जोगाउनका लागि पनि उक्त सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ । त्यसबाहेक सरकारले गरेको पुनरावेदनको नियमित पेसी न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा आज नै तोकिएको छ ।