८ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।
पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे निर्णय गर्ने अन्तिम अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
पदाधिकारीको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ ।’
पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको पनि प्रवक्ता महराले जानकारी दिएका छन् । ‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो,’ उनले भने ।
पार्टीको बैठक बस्नु अगाडि प्रचण्डले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । आइतबार राति नेपाली कांग्रेसका सभापतिसहित शिर्ष नेताहरुसँग प्रचण्डले दुई घण्टासम्म वार्ता गरेका थिए ।