७ फागुन काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री दिनानाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताएका छन् ।
त्यस्तो सहमति गरेको भए पार्टीलाई थाहा हुनु पर्दैन ? म पार्टीको सचिव हुँ, सचिवालयलाई नै थाहा छैन । उनले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेस वा नेकपा एमालेभन्दा पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताए । उनले भने, माओवादी केन्द्र कांग्रेस वा एमालेतिर होइन, राष्ट्रिय सहमति बनाउनेतिर लागेको छ । आपसमा कति लड्ने ? विकास र समृद्धिका लागि सबैलाई मिलाउने लागेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा संसद्मा एकखाले सहमतिको वातावरण बनेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दियो । अब राष्ट्रपतिमा तिम्रो मत चाहिँदैन किन भन्ने ?’
अब कांग्रेससहितको सहमतिमा राष्ट्रपति बनाउनु पर्ने उनले बताए । शर्माले थपे, ‘सक्षम पात्र एमालेले दिए पनि हुन्छ, कांग्रेसले पनि दिए हुन्छ । कांग्रेस हुँदैन भने रोहित, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, महन्थ ठाकुर जसलाई बनाए पनि हुन्छ । सहमति गरौं न सबै मिलेर । मेरोबाहेक अरु हुँदै हुँदैन भन्ने कुरा आउँदैन । अब निषेधको राजनीति गर्नुहुँदैन ।’