समाचार

अरुण चौधरीसहित कैलाली कारागारबाट चार जना रिहा हुँदै

७ फाल्गुन २०७९, आईतवार ०२:४४
अरुण चौधरीसहित कैलाली कारागारबाट चार जना रिहा हुँदै

७ फागुन काठमाडौँ । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। सोही सूचिमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको कारागार स्रोतले जानकारी दिएको छ।

१० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै माफी मिनाहा भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालतबाट भएको फैसला बमोजिमको सजाय २०७९ सालको प्रजातन्त्र दिवस (फागुन ७, २०७९) को अवसरमा माफी मिनाहा गरी पाऊँ  निवेदन पेस भएको छ,’ गृहको पत्रमा भनिएको छ,  ‘यस मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष दिनु भएको निवेदनहरूको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ को उपदफा (५) बमोजिम उक्त मुद्दाहरूको सजाय/फैसला अदालतबाट अन्तिम किनारा भएको वा नभएको यकिन गरी पठाइदिनु।’

गृहले उनलाई माफी दिनका लागि फैसला अन्तिम भएको जानकारी र माफीको विषयमा राय माग गरेको हो। गृहको माग अनुसार सरकारी वकिलको कार्यालयले राय उपलब्ध गराएमा उनको सजाय र जरिवाना दुवै माफी हुने छ। राष्ट्रपतिले माफी दिएलगत्तै उनी थुनामुक्त भएर सांसदको रुपमा पुन: प्रतिनिधि सभामा सहभागी हुन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्