समाचार

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

५ फाल्गुन २०७९, शुक्रबार १४:३१
ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

५ फागुन, काठमाडौं । सत्तारुढ दलभित्र राष्ट्रपतिको विषय पेचिलो बन्दै गएका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटलाई बाक्लो बनाइरहेको छ ।

गठबन्धनमा अविश्वास बढेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस हौसिएको छ । कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् ।

यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेट वार्ता गर्ने गरेका छन् । यसअघि बिहीबारको भेटमा भने प्रचण्डले राखेको प्रस्तावले ओली एकाएक निराश भएर प्रधानमन्त्रीको निवास बालुवाटारबाट फर्केका थिए ।

फागुन २५ गते तोकिएको राष्ट्रपतिको निर्वाचनको छलफलका क्रममा प्रचण्डले ओलीसँग अहिलेकै सरकारलाई पाँच वर्ष निरन्तरता दिनुपर्ने प्रस्ताव राखेसँगै ओली निराश भएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटघाटको क्रममा प्रचण्डले सो प्रस्ताव राखेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार प्रचण्डले आफूलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने र त्यसको बदलामा आफूले राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

प्रचण्डको सो प्रस्तावपछि एमाले अध्यक्ष ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुनुपर्ने दोहोर्याएका थिए । तर प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अवधारणालाई अघि सार्दै सरकारको निरन्तरताको प्रश्नको निरुपण खोजेका थिए ।

प्रचण्डको सो धारणापछि सत्ता गठबन्धनमा रहेका मुख्य घटकबीच राष्ट्रपतिको दाबीले एक अर्काप्रति अविश्वास मात्र उत्पन्न गराएको छैन, ओलीलाई निराशासमेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्