४ फागुन, काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लगिएको छ ।
कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने भएको हो ।
भण्डारीलाई मुम्बईसम्म पुर्याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न छ । सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ । स्वास्थ्यकर्मीहरूको उक्त टोलीमा नर्भिक अस्पतालकै डा. बृहस्पति केसी, डा. रोशन शर्मा तथा पारामेडिक्सहरू दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।
उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।
बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।