३ फगुन, काठमाडौं । मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनका क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्दै मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ । ‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्नसक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको उनको आरोप छ ।
सरकारले पसल लुटपाट गर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन भट्टराईले माग गरे । लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँबराबरको क्षति भएको उनको भनाइ छ ।