२ फागुन, काठमाडौं । गृह मन्त्रालयले यातायात मजदूरको आन्दोलनको क्रममा सोमबार मोबाइल पसलमा भएको लुटपाटको घटनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएको बताइएको छ ।
यातायात मजदुरको आन्दोलनको क्रममा सोमबार साँझ त्यहाँ प्रहरीका २ वटा गाडीमा आगजनी भएको थियो । त्यस्तै, नयाँ बसपार्कको ल्होत्से मलमा तोडफोड हुँदा मोबाइल पसलमा करोडौँको क्षति पुगेको व्यवसायीले दाबी गरेका छन् ।