समाचार

वामपन्थी आन्दोलन जोगाउन सकिएन–केपी ओली

२ फाल्गुन २०७९, मंगलवार १०:४८
वामपन्थी आन्दोलन जोगाउन सकिएन–केपी ओली

२ फागुन, काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताएका छन् ।

 आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरुलाई चौतर्फी घेराबन्दीमा परेर दुईतिहाई नजिकको वामपन्थी आन्दोलन जोगाउन नदिएको बताएका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताएका हुन् ।

माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेकपा कायमै रहेको अवस्थामा आफूलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको उनले स्मरण गरे । यसरी चौतर्फी धेराबन्दीमा पारेर पार्टीलाई ध्वस्त बनाएपनि अहिले पार्टी उठिसकेको उनको दाबी छ । ‘नेकपा (एमाले ) कब्जा नै गरेका हुन् । अध्यक्षलाई त साधरण सदस्यबाटसमेत, भविष्यमा पनि साधरण सदस्य हुन नपाउने गरी । कत्रो चारकिल्ला ठोकेको हेर्नुस् त ? यसरी ध्वस्तै पारेका थिए पार्टीलाई । हामीले फेरि पार्टीलाई उठाएका छौं,’ उनले भने ।

संसदको बनावट अस्थिर राजनीतिकको कारक बन्ने खालको रहेको भन्दै ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो । कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन ।’

प्रतिक्रिया दिनुहोस्