२ फागुन, काठमाडौं। यातायात मजदुर र व्यवसायीयले आन्दोलन स्थगित गर्ने भएका छन् । आज बिहान सिंहदरबारमा भएको सरकारसँगको वार्तामा मंगलबार उपत्यकामा गरिएको यातायात बन्द स्थगित गर्ने सहमति भएको हो ।
यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्। वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए।
‘सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौं। तत्काल तपाईंहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौं,’ मन्त्री श्रेष्ठले भने।
उनले हड्ताल तत्काल फिर्ता लिइदिन आग्रह गरेका थिए। ‘समस्या समाधान गर्न सरकारले कार्यक्रम बनाइसक्यो। नेतृत्व जतिखेरै छलफल गर्न तयार छ। तपाईंहरूले अहिले नै हड्ताल फिर्ता लिइदिनुस्,’ मन्त्री श्रेष्ठले आग्रह गरे। छलफलमा यातायात मजदुरहरुले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए।
ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आन्दोलनमा थालेका थिए । ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
आन्दोलनका कारण बिहान काठमाण्डौ उपत्यकामा कम गाडी चलेका थिए । काम विशेषले हिँड्नेहरु समस्या परेका थिए । अहिले भने गाडीको आवागमन सामान्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।