समाचार

लुम्बिनी प्रदेश: माओवादी मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

२८ माघ २०७९, शनिबार ०८:१८
लुम्बिनी प्रदेश: माओवादी मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

२८ माघ, दाङ। लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्। शपथ ग्रहण गरेकाे एक महिनासम्म जिम्मेवारी नताेकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्राेतले जनाएको छ।

शनिबार मन्त्री केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको बताएकी छिन् । तर सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले आधिकारिक रूपमा राजीनामा नआएको दाबी गरेका छन् ।

मुख्यमन्त्री लुम्बिनीमा छन्। त्यही पुगेर राजीनामा बुझाएको बताइएको छ। मन्त्रालय बाँडफाँड र अब ताेकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेकाे बुझिन्छ। उनलाई भाैतिक पूर्वाधार मन्त्रालय चाहिएकाे, उनकाे जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेकाे स्राेतले बताएको छ।

भौतिक पूर्वाधार विकास र आन्तरिक मामिलामध्ये एकमा केसीको निश्चित भए पनि अर्को कसलाई पठाउने भन्ने माओवादीमा विवाद छ । रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने प्रतिस्पर्धामा छन् । थारु पूर्वमन्त्री पनि भएकाले पार्टीको प्राथमिकतामा पुन छन् ।

प्रतिक्रिया दिनुहोस्