२८ माघ, काठमाडौँ। परिवारलाई पूर्व जानकारी नदिई साउदी अरबमा बन्दीहरूलाई मृत्युदण्ड दिने गरिएको उनीहरूका आफन्तले बीबीसीलाई बताएका छन्। सन् २०१५ यता उक्त देशको मृत्युदण्डदर करिब दोबर भएको मानवअधिकार सम्बन्धी एउटा प्रतिवेदनले देखाएको छ। त्यही वर्ष राजा सलमान र उनका छोरा मोहम्मद बिन सलमान नेतृत्वमा आएका थिए।
मुस्तफा अल-खैयात मारिँदै गरेको सूचना उनको परिवारलाई दिइएको थिएन। उनीहरूले अहिलेसम्म अन्तिम संस्कारका लागि शव पाएका छैनन्। हेर्न जान चिहान पनि छैन। अन्तिम पटक जेलबाट गरेको फोन कुराकानी टुङ्ग्याउनुअघि मुस्तफाले आफ्नी आमासँग भनेका थिए, “अब म जानुपर्छ। तपाईँ ठिक हुनुहुँदोरहेछ, म खुसी छु।”
उनीसँग भएको त्यो कुराकानी नै अन्तिम थियो भन्ने उनीहरूलाई कुनै अड्कलसमेत भएन। त्यसको एक महिनापछि १२ मार्च सन् २०२२ मा मारिएका ८१ जनामध्ये मुस्तफा एक थिए। त्यो साउदी अरबको आधुनिक इतिहासमै सबैभन्दा ठूलो आम मृत्युदण्ड थियो।
नयाँ प्रतिवेदनका लागि साउदीमा भएका मृत्युदण्डहरूको सावधानीपूर्वक अभिलेखीकरण गर्दै आएको अभियान समूह ‘रिप्रिभ’ले सङ्कलन गरेको लामो सूचीमा मुस्तफाको नाम पनि छ। यो संस्थाले ‘युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स’सँग मिलेर काम गर्दै आएको छ।
सन् २०१० यता सङ्कलन गरेका तथ्याङ्कका आधारमा उनीहरूको अध्ययनले निम्न कुरा पत्ता लगाएको छ। सन् २०१५ मा राजा बनेका सलमानले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई महत्त्वपूर्ण पदहरूमा नियुक्ति गरेसँगै साउदी अरबमा मृत्युदण्डको दर करिब दोबर भएको छ।
असन्तुष्ट पक्ष र विरोधीहरूको आवाज दबाउन मृत्युदण्डलाई नियमितजसो प्रयोग गरिँदै आएको छ। यस्तो काम अति गम्भीर अपराधमा मात्रै यसको प्रयोग गरिनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानुनको उल्लङ्घन हो।
साउदी अरबले नाबालकहरूको कसुरमा मृत्युदण्ड कम गर्दै आएको दाबी बारम्बार गर्दै आए पनि पक्राउ पर्दा बालबालिकाकै उमेरमा रहेका कम्तीमा ११ जनालाई सन् २०१५ यता मृत्युदण्ड दिइएको छ।
साउदी जेलमा यातना प्रकोपकै रूपमा छ र बाल अभियुक्तलाई पनि यातना दिइन्छ।रिप्रिभले गत वर्ष साउदी अरबमा १४७ जनालाई मृत्युदण्ड दिइएको अभिलेखीकरण गरेको छ। तर सङ्ख्या त्यसभन्दा बढी हुनसक्ने उल्लेख गरेको छ।
दस्तावेजमा उक्त देशले महिला विदेशी घरेलु कामदार र सामान्य लागुऔषध अभियुक्तहरूलगायत विदेशी नागरिकहरूलाई “असङ्गतीपूर्वक” मृत्युदण्ड दिने गरेको उल्लेख छ।
एक वर्ष बितिसक्दा पनि अधिकारीहरूले मुस्तफाको परिवारलाई उनी र अन्य व्यक्तिहरूलाई कसरी मृत्युदण्ड दिइयो भन्नेबारे जानकारी दिएका छैनन्। उनका दाजु यसरले परिवारका लागि यो घटना दुखद भएको बताए।
“उनीहरूको शव राम्रोसँग पुरियो वा मरुभूमिमा फालियो कि समुद्रमा फालियो हामीलाई केही पनि थाहा छैन। हामीलाई कुनै पत्तो छैन,” उनले भने।
यसरले पहिलो पटक सार्वजनिक रूपमा मुख खोलेका हुन्। उनी अहिले जर्मनीमा बस्छन्। भाइको जस्तै आफ्नो नियति हुनसक्ने त्रासमा सन् २०१६ मा साउदी अरब छोडेका उनलाई त्यहाँ राजनीतिक शरण दिइएको थियो।
यसर आफ्ना भाइ “रमाइला, घुलमिल हुने स्वभावका र लोकप्रिय” रहेको बताउँछन्। सन् २०११ देखि मुस्तफा साउदी सरकारको विरोधमा देशको अल्पसङ्ख्यक शिया समूहले गर्ने दैनिक प्रदर्शनमा सहभागी हुन थालेका थिए।
उनी सन् २०१४ मा पक्राउ परेका थिए। उनको मृत्युपछि एउटै किसिमको अभियोगमा उनीसहित ३० जनालाई मृत्युदण्ड दिइएको सरकारी घोषणा सार्वजनिक भयो। अभियोगहरूमा सुरक्षाकर्मीहरूको हत्या प्रयास, बलात्कार, डकैती, बम बनाउने काम, झैझगडा मच्चाउने, अराजकता मच्चाउने र हातहतियार तथा लागु औषधको कारोबार गरेका भन्ने लगायतका थिए।
“उनीहरूले कहिल्यै कुनै प्रमाण दिएनन्। यो झुट धेरै गहिरो छ,” यसर सविस्तार सुनाउँछन्। आफ्ना भाइले आफूलाई दिइएको सजायविरुद्ध अपिल गर्ने प्रयत्न गरिरहेकै बेला उनी र अन्य ८० जनालाई मृत्युदण्ड दिइएको उनले बताए।
“उनीहरूले ज्यान मात्रै लिएनन् की नियोजित रूपमा उनीहरूको बदनाम गरे र गर्दै नगरेको कसुरको आरोप उनीहरूमाथि लगाए।
साउदीका राजाका पछाडि बसेर शासनसत्ता चलाउँदै आएका युवराज मोहम्मद बिन सलमानले शक्तिमा आए लगत्तै अधिराज्यको आधुनिकीकरण गर्ने वाचा गरे। उनले सन् २०१८ को एउटा अन्तर्वार्तामा पश्चिमा राष्ट्रहरूको सहयोगी राष्ट्र आफ्नो देशले मृत्युदण्ड “घटाउने” प्रयास गरिरहेको बताए।
तर साउदी अरबले पाएको जी२० देशहरूको अध्यक्षता र कोभिड महामारीको संयोग भए पनि वाचा गरेको पाँच वर्ष बित्दासमेत साउदी अरब विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने देशहरूमा पर्छ।
‘एमबीएस’ भनेर चिनिने साउदीका युवराजले “आफूले गरेको वाचाभन्दा ठिक उल्टो गरेको” रिप्रिभकी निर्देशक माया फोआले पूर्वी लण्डनस्थित आफ्नो कार्यालयमा मलाई भनिन्।
“उनले धेरै वटा मृत्युदण्ड र प्रजातन्त्र पक्षधर प्रदर्शनहरूमा सहभागी मानिसहरूमाथि भएका दमनको आफैँ निरीक्षण गरेका छन्।”
उनका अनुसार रिप्रिभले हेरेका धेरै घटनाहरूमा उनीहरू मारिने सूचीमा भएको जानकारी कसैलाई पनि दिइएको थिएन। परिवारका सदस्यले थाहा पाएनन्। मानिसहरू पक्राउ परे, मुद्दा चलाइयो, मृत्युदण्डको सजाय सुनाइयो र गोप्य रूपमा मृत्युदण्ड दिइयो,” उनले भनिन्।
कतिपय परिवारले त आफ्ना प्रियजनलाई मृत्युदण्ड दिएको जानकारी सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको फोआ बताउँछिन्। आधिकारिक जानकारी नदिइनु सबैभन्दा “क्रूर र कष्टप्रद” भएको उनी सुनाउँछिन्।
साउदी अरबमा धेरैजसो सार्वजनिक स्थानमा टाउको काटेर मृत्युदण्ड दिइने गरिन्थ्यो। यसरी मृत्युदण्ड पाएकाहरूको नाम र उनीहरूमाथिको अभियोग सरकारको वेबसाइटमा सार्वजनिक गर्ने गरिन्थ्यो।
तर अहिले मृत्युदण्ड गुपचुप हुन थालेको मानव अधिकारकर्मीहरू बताउँछन्। मैले समाचारका लागि कुरा गरेका कसैले पनि अहिले मृत्युदण्ड कसरी दिइन्छ भन्नेबारे थाहा नभएको बताए पनि गोली हान्ने मानिसहरू प्रयोग हुने ठानिएको छ।
साउदी अरबको कानुनी प्रणालीमै समावेश मृत्युदण्डको सजाय “सारभूत रूपमै अनुचित रहेको” बर्लिनस्थित युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सका निर्देशक अली आदुबिसी बताउँछन्।
“कुनै पनि किसिमका स्वतन्त्र नागरिक समाज र मानव अधिकार समूह त्यहाँ काम गर्न पाउँदैनन्। हामीले मृत्युदण्डबारे ध्यानाकर्षण गराएनौँ भने मानिसहरू गुपचुप मारिन्छन्।”
ह्युमन राइट्स वाचले मार्चमा मृत्युदण्ड दिइएका ८१ मध्ये ४१ जना मानिसहरू अल्पसङ्ख्यक शिया समूहका रहेको जनाएको छ। “साउदी अरबको फौजदारी न्याय प्रणालीमा रहेको व्यापक र प्रणालीगत दुर्व्यवहारका कारण उनीहरूले निष्पक्ष सुनुवाइको मौका नपाउने सम्भावना धेरै” रहेको जनाइएको छ। यातना दिइएका विवरणहरू पनि उनीहरूले सुनेका थिए।
मुस्तफा सन् २०१४ मा पक्राउ परेको १२ महिनापछि यसरले आफ्ना भाइलाई भेट्ने मौका पाएका थिए। तर त्यहाँ जे देखे त्यसले उनलाई स्तब्ध बनायो।
“उनलाई नदेखेको एक वर्ष भइसकेको थियो तर पनि उनी हामीलाई अभिवादन गर्न उठ्नसमेत सकेनन्। उनी उठ्न खोज्दा लरबराएर थचक्क हुन्थे। हामीले सोध्दा उनले यातनाका कारण त्यस्तो भएको बताए।
उनको शरीरमा डामहरू थिए र आफूलाई करेन्ट लगाइएको उनले बताएका थिए। पक्राउ परेका अर्का व्यक्ति हुसेन अल-खइरकी दीदीले आफ्ना भाइलाई पनि कठोर यातना दिइएको बताइन्।
“आफ्नो खुट्टामा बाँधेर कुटपिट गरिएको उनले सुनाए। दबाव दिएर स्वीकार गर्न लगाइएको कुरालाई सुनुवाइमा मान्यता दिइन्छ भनेर उनका भाइले कहिल्यै कल्पना नगरेको,” सन् २०१४ देखि थुनामा रहेका हुसेनकी दिदी जैनब अबू अल-खइरले भनिन्।
धनाढ्य साउदी परिवारका लागि सवारी चालकको काम गरिरहेका जोर्डनका हुसेन आफ्नो कारमा लागुऔषधसहित जोर्डन-साउदी सीमामा पक्राउ परेका थिए। त्यो लागुऔषध भाइको नभएको जैनब ठान्छिन्।
क्यानडास्थित आफ्नो घरबाट कुरा गर्दै उनले हुसेन पक्राउ परेयता परिवारले भेट्नका लागि गरेका प्रयास कसरी असफल भए भन्ने सुनाइन्। जैनबका अनुसार उनका छोरा अपाङ्ग छन् र उनी जेल परेपछि १४ वर्षकी छोरीलाई पनि जोर्डनमा “विवाहका लागि बेचियो”।
गत नोभेम्बरमा साउदी अरबले लागुऔषध अभियोगमा मृत्युदण्ड दिन लगाएको अघोषित रोक अन्त्य गर्यो। जसलाई संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले “अत्यन्त खेदजनक” भनेको थियो। त्यसको १५ दिनभित्र यस्तो अभियोगमा १७ जना पुरुषहरूलाई मृत्युदण्ड दिइएको राष्ट्रसङ्घले जनाएको छ।
जैनबका अनुसार जेलमा हुसेन रहेको स्थानबाट लगिएका मानिसहरू फर्केर आएका छैनन्। यसले हुसेन र जैनब दुवैलाई भयभित बनाएको छ। उसबारे बोल्दा जहिले पनि मेरो मुटुको धड्कन बढ्छ उनले भनिन्।
म दिन रात उसकै बारे मात्र सोच्छु। मैले सपना पनि खराब देख्ने गरेकी छु। बर्बर तरिकाले उसको टाउको काटिदिने हुन् कि भन्ने कुरा खेल्छ,” उनले सुनाइन्। यो कति कठिन हुन्छ भन्ने तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। कहिलेकाहीँ म एक्लै बसेर रोइमात्र रहन्छु।”
अरू देशहरूले साउदी अरबलाई “यसो गर्न छुट दिइरहेको”मा पनि उनलाई रिस उठेको छ। गत मार्चमा ८१ जना मानिसहरूलाई सामूहिक मृत्युदण्ड दिएको चार दिनपछि यूकेका तत्कालीन ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले मोहम्मद बिन सलमानसँग भेट गरेर रुसी आपूर्ति प्रतिस्थापनका लागि थप तेल दिन फकाएका थिए। यूकेको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले जोनसनले साउदी अरबमा मानव अधिकारको विषय पनि उठाएको बताएको थियो।
सत्तामा आएयता एमबीएसले सामाजिक र आर्थिक रूपान्तरणको काम गरेका छन्। उनले महिलालाई आफैँ गाडी चलाउन अनुमति दिएका छन्। तर सँगसँगै राजनीतिक दमन पनि बढिरहेको छ।
ह्युमन राइट्स वाचको पछिल्लो प्रतिवेदनले साउदी अरबको अवस्थालाई “निन्दनीय” भनेको छ। आफ्नो प्रतिष्ठामा देखिने यो दागलाई उसले खेलकुद र मनोरञ्जनको माध्यमबाट “पखाल्ने” प्रयास गरिरहेको छ।
त्यहाँको सरकारी निकाय साउदी मानव अधिकार आयोगलाई एक जना अधिकारीसँग कुरा गराइदिन बीबीसीले लेखेका तीन वटा इमेलको जवाफ प्राप्त भएको छैन।
लण्डनस्थित साउदी दूतावासले बीबीसीलाई दिएको एक वक्तव्यमा विश्वका अन्य धेरै देशहरूमा पनि मृत्युदण्डको सजाय हुने भनिएको छ। जसमा कस्तो खालको सजाय उपयुक्त हुन्छ भन्नेबारे देश अनुसार फरक फरक धारणा रहने उल्लेख गरिएको छ।
जसमा भनिएको छ, “आफ्नो कानुन र प्रथा निर्धारण गर्ने उनीहरूको अधिकारको हामी सम्मान गर्छौँ। हामी आशा गर्छौँ अरूले पनि हाम्रो न्यायिक र विधायीकी छनौटको सार्वभौम अधिकारको सम्मान गर्नेछन्।”
तर उक्त प्रतिक्रियाले अन्तर्राष्ट्रिय मान्यता विपरीत युवराज एमबीएसको नेतृत्वकालमा तीव्र बढेको मृत्युदण्ड वा मृत्युदण्डको सजाय दिइने तरिकाबारेका प्रश्नको सम्बोधन गरेको छैन। संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले “साउदी अरबमा मृत्युदण्ड दिइने सजायको प्रवृत्तिबारे निकै चिन्तित रहेको” बीबीसीलाई बताएको छ।
“मृत्युदण्डको सजायमा भएको बढोत्तरी र त्यसको अनुमतिबारे हामी चिन्तित छौँ। त्यसमा पनि खासगरी बाल अभियुक्तविरुद्ध र लागु औषधसँग सम्बन्धितसहित अन्तर्राष्ट्रिय कानुन अनुसार ‘अति गम्भीर खालका अपराध’को मापदण्ड पूरा नगरेका अभियोगमा,” कार्यालयले उल्लेख गरेको छ।
जसका प्रियजन जेलमा छन् उनीहरूका लागि यो निकै छटपटीको समय हो। हुसेनकी दिदी पारिवारिक च्याट गर्ने समूहमा आउने सन्देशबारे चनाखो भइरहन्छिन्।
यस्तो तनावको सामना गर्नका लागि यो जिन्दगी होइन,” उनी भन्छिन्। हरेक बिहान र हरेक साँझ हामीले उ जिउँदै छ कि छैन भनेर जाँचिरहनुपर्छ। बिबिसीको सहयोग र थप रिपोर्टिङ इलेनर मन्टेग्युबाट