समाचार

रेशमलाई छुटाउने अभियानमा मुख्यमन्त्री शाह, घरमा पुगेर आमालाई भेटे

२८ माघ २०७९, शनिबार ०७:४५
रेशमलाई छुटाउने अभियानमा मुख्यमन्त्री शाह, घरमा पुगेर आमालाई भेटे

२८ माघ, काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सहयोग गर्ने बताएका छन् ।

जानकी गाउँपालिका ६ जगतपुर पुगेर मुख्यमन्त्री शाहले रेशमलाई रिहा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै मुख्यमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताउँदै मुख्यमन्त्री शाहले सदियौँदेखिको सामाजिक भाइचारा फर्काउन आफूले पहल गर्ने बताए ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टी प्रदेशसभा बैठकमा उपस्थित नभएपछि  विश्वासको मत नपाएर राजीनामा दिएका थिए। रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ। उनले आफूले ३० दिन भित्र विश्वासको मत पाउने दाबीसमेत गरेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्