२७ माघ, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै सुरक्षाकर्मीले लाठी प्रहार गर्दा राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जेनीथ सिंह घाइते भएका छन् ।
अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि अहिले सहिदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने गाडी अवरुद्ध भएको छ।
चिकित्सकहरु अहिले ‘प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद’ भन्दै नाराबाजीमा उत्रिएका छन्। राष्ट्रपतिको सवारीको समयमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्। प्रहरीले सडकको अवरोध हटाउन बल प्रयोग गरेपछि केही स्वास्थ्यकर्मी घाइते भएका छन्। शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनलाई सम्बोधन गर्न पुगेकोले यसअघि पनि यो क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको थियो।
गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । डा. सिँहले आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको मरासिनीले जानकारी दिए ।
स्वास्थ्यकर्मीमाथि प्रहरीको दुर्व्यवहारविरुद्ध यतिखेर वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।