समाचार

११ कक्षाकी छात्राले गरिन् आत्महत्या

२५ माघ २०७९, बुधबार १५:११
११ कक्षाकी छात्राले गरिन् आत्महत्या

२५ माघ, काठमाडौँ।  शिक्षकले कुटपिट गरेको र कुटपिटको भिडिओ बनाएको भन्दै त्यही निहुँमा विद्यार्थीले आत्महत्या गरेको आरोपसहित झापाको गौरीगञ्जमा स्थानीय आन्दोलित भएका छन् ।

गौरीगञ्ज ३ कृपालटोलीकी सोनी राजबंशीले शिक्षकले कुटेको भन्दै आत्महत्या गरेकी बताइएको छ । मंगलवार स्कूलबाट घर फर्किएलगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्दार गरी अस्पताल पुर्याएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ सोनीकी बहिनीले देखेपछि उद्दार गरेर दमक उपचारको लागि लगिएकोमा मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शी विद्यार्थीहरूका अनुसार मंगलबार विद्यालयमा केटा साथीसँग बसेको निहुँमा विद्यालयका शिक्षक पवन दासले उनलाई लट्ठीले कुटपिट गरेका थिए।

विद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तहरूकाे भनाइ छ।

पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीले आरोपित शिक्षकलार्र्इ पक्राउ गर्न माग गर्दै बिहान इलाका प्रहरी कार्यालयमा धर्ना दिएका थिए । आरोपित शिक्षकलाई पक्राउ गर्न ढिलासुस्ती गरेको भन्दै आक्रोशित आफन्त र मृतकका साथीले शिक्षक पवन दासको घरमा तोडफोड समेत गरेका छन् ।

मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्