समाचार

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यन्त्रीलाई विश्वासको मत नदिने

२४ माघ २०७९, मंगलवार १४:४५
नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यन्त्रीलाई विश्वासको मत नदिने

२४ माघ, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अग्रसरतामा डिल्लीबजार कारागारभित्र बसेको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ र सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरी सहभागी थिए ।

अध्यक्ष श्रेष्ठले राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि विश्वासको मत नदिने बताइन् । विश्वासको मत नदिने निर्णयसँगै सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का भएको छ ।

उक्त बैठकमा सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतकसहित सातजना सांसदहरु सहभागी थिए। त्यसैगरी बैठकमा पार्टीकी अध्यक्ष श्रेष्ठ पनि सहभागी थिइन्।

‘हाम्रा माग अझै पूरा भएका छैनन्, कुनै पनि माग संघीय सरकारले सम्बोधन गरे’, अध्यक्ष श्रेष्ठले ‘त्यहीकारण हामीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छौँ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिँदैछन्।२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संविधानको व्यवस्था छ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।

संघीय सांसद गंगा चौधरीले पनि रेशम चौधरीको रिहाइ नभएसम्म सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए।

प्रतिक्रिया दिनुहोस्