२३ माघ, काठमाडौँ । सांसदहरुले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिहरुको नाम र कार्यक्षेत्र पुनर्संरचना गरी प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन् ।
समितिका निर्देशन कार्यान्वयन महत्वपूर्ण पक्ष भएकाले कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने संयन्त्रको व्यवस्था गर्नुपर्नेमा पनि सांसदहरूले जोड दिएका छन् । विभिन्न बहानामा समितिको बैठकमा मन्त्रीहरू उपस्थित नहुने गरेका दृष्टान्तहरू उदृत गर्दै उनीहरूले मन्त्रीहरूको उपस्थित अनिवार्य हुनुपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
मंगलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा नेपाली काँग्रेसकी सांसद सीता गुरुङले संसदीय समिति नाम, क्षेत्राधिकार पुनःसंरचना गरी आवश्यक केहीको संख्या बढाउनुपर्ने प्रश्ताव अघि सार्नुभयो भने हाल प्रतिनिधि सभामा १० वटा समितिहरु रहेका छन् । हाल भइरहेको १० वटा समितिमा २ वटा थपेर १२ वटा संसदीय समिति बनाउनुपर्ने धारणा सांसद गुरुङको थियो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदीय समितिको बैठकमा मन्त्रीहरु अनिवार्य उपस्थित हुने व्यवस्था गर्नुपर्ने धारणा राखे । मन्त्रीहरुलाई संसदीय समितिको बैठकमा उपस्थित नहुने छुट दिन नहुने सांसद सिंहको जिकीर थियो ।
एमाले सांसद श्रेष्ठले संसदीय समितिले माग गरेको कागजात समेत विगतमा मन्त्रालयहरूले नबुझाएको अनुभव आफूसँग रहेको उधृत गर्दै त्यस्तो अवस्था आउन नहुने गरी नियमावलीमा आवश्यक व्यवस्था मिलाउन उपयुक्त हुने धारणा समेत राखे ।
गत माघ १० गते बनाइएको २१ सदस्यीय सो समितिलाई १५ दिन भित्र प्रतिनिधिसभा नियमावली मस्यौदा समिति तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ ।