समाचार

बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरूले बुझाए राजीनामा

२२ माघ २०७९, आईतवार १५:०२
बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरूले बुझाए राजीनामा

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा बुझाएका छन्। पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाका तीन जना मन्त्रीले राजीनामा दिएका हुन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालसँगै गत पुस ११ गते सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसमा एक थिए, रास्वपाका सभापति रवि लामिछाने। उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए।

त्यसपछि प्रधानमन्त्री दाहालले माघ ३ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए। चार उपप्रधानमन्त्री तथा तीन राज्यमन्त्री सहित २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट तीन जना थपिएका थिए।

रास्वपाले आइतबार नै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।  नागरिकता मुद्दामा सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले नागरिकता प्राप्त गरिसकेपछि पुनः गृहमा फर्कन प्रयास गरेपनि पाएनन्। सोही कारण रास्वपा सरकारबाट बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस्