२२ माघ, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा तल्ला अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार प्रत्यर्थी झिकाउन आदेश दिएको हो। यससँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीसहितले विपक्षी बनाएकाहरू सर्वोच्च अदालतमा उपस्थित हुनुपर्ने भएको छ।
उक्त घटनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त अदालतले तीन वर्षको कैद गर्ने फैसला सुनाएको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो। भने ३१ जना फरार छन्। फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवी (पक्राउ परेपछि फाइल खोल्नेगरी स्थगित) मा राखिएको छ।
पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत् उम्मेदवारी दिएका थिए। उनी कैलाली-१ बाट भारी मत ल्याएर सांसद निर्वाचित भएका थिए।