२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
श्रेष्ठले आफूलाई चितवन २ बाट स्वतः निर्वाचित घोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् । श्रेष्ठले निवेदन दिइसकेपछि निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताएका छन् ।
उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारेका छन् । चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहेका थिए ।
१३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो । अब चितवन २ मा उप निर्वाचन हुने भएको छ ।