समाचार

सत्ताबाहिर बस्नु पर्दा कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको छ– ओली

२२ माघ २०७९, आईतवार ०९:०२
सत्ताबाहिर बस्नु पर्दा कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको छ– ओली

२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर बस्नु पर्दा नेपाली कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । बैठकमा उनले राष्ट्रलाई अस्थिरताबाट जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको समेत बताए ।

‘कांग्रेसको व्यवहार बुझिनसक्नुको छ। सत्तामा नहुँदा कांग्रेस पानी बाहिरको माछाजस्तै भएको छ,’ ओलीले भने, ‘हामी वृहत्तर हितमा काम गर्छौं। धमिलो पानीमा माछा पार्नेहरुको हितमा छैन यो।’

चुनावमा धाँधली गर्नेदेखि जनतालाई झुक्याउने पार्टी कांग्रेस भएको दाबी गर्दै ओलीले लोकतान्त्रिक पार्टी भनेर कांग्रेसले भन्न नैतिकताले नदिने तर्क गरे। ‘कतिपय साथीको दाबी छ फलानो पार्टी भनेको लोकतन्त्र हो। कांग्रेस भनेकै लोकतन्त्र। लोकतन्त्रको पर्याय नै कांग्रेस रे,’ उनले भने, ‘विदेश पठाइदिउँला भनेर झुक्याएर चुनाव जितेर लोकतन्त्र। नैतिक र इमान बिनाको कामलाई हामी आत्मसाथ गर्न सक्दैनौ।’

‘प्रतिनिधि सभा र प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट नआएपछि हामी जसरी पनि सरकार बनाउने सत्तालिप्सामा थिएनौँ, प्रतिपक्षमा बस्न तयार थियौँ । कांग्रेसमा सरकार गठनको व्यग्रता थियो । अनिश्चय बढ्दै गएको अवस्थामा राजनीतिक निकाश दिन एमालेले सरकार गठनको पहल लिनु पर्ने अवस्था आयो’, ओलीले भने, ‘प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिपक्षी अस्तित्व स्वीकार गरेको छैन, कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको छ, सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभका लागि खप्पिस छ । म मेरा मित्र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उहाँलाई आग्रह गर्न चाहन्छु, बृहत्तर राष्टिय हितमा काम गरौँ । कोही पनि जालान्धर नबनौँ। स्वास्थानीको बेला छ । राष्टलाई अस्थिरतातर्फ धकेल्नेतर्फ नलागौँ ।’

प्रतिक्रिया दिनुहोस्