२१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन पनि प्रस्ताव गरिएको स्रोतले बतायो ।
पछिल्लो समय सभापति लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनिएको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएको बताइएको छ ।
जवाफमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने बताइएका थिए । पार्टीका बहुमत सदस्यले तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने सुझाब दिएका छन् ।
आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ । रास्वपाले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।