१५ माघ, काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने जानकारी आएको छ।
‘गृह मन्त्रालयले नै कानुनी समस्या नपर्ने गरी र अदालतको आदेशको विरुद्ध नहुने गरी नागरिकता दिँदा फरक पर्दैन भएकाले आज उन आउनुभयो भने नागरिकता जारी गर्छौँ,’ एक अधिकारीले भने ।
यसअघि जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।
‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’