११ माघ, काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरेका छन् ।
मंगलवार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गर्नुभएका उनका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुग्नुभएका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए।
अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताए । उनले मृतक आचार्यले उठाउनुभएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाए । उनले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए।
उनले भने, ‘अहिले दुःखको बेला अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु । समय लाग्नसक्छ,’ उनले भने‚ ‘सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ । हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु ।’
मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमान्ले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन् । उनले देशमै केही गरौँ भन्ने मान्छेको मृत्यु भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण भएको बताइन् ।